कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति आयोगको ध्यानाकर्षण
आयोगले एक विज्ञप्तिमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको हो।
काठमाडौँ, साउन ३ : संस्थागत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका १५६ जना नेपाली नागरिकको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गरेको छ।
आयोगले एक विज्ञप्तिमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले रोकेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको हो। आकमिक रोकेको घटनाका बिषयमा जिम्मेवार निकायहरू बिच सार्वजनिक रूपमै आरोप प्रत्यारोप भएको अवस्थाले ती निकायहरू श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसकेको आयोगले जनाएको छ। जसका कारण आप्रवासी कामदारहरूको अधिकार उपभोग र प्रचलनमा अवरोध हुन पुगेको स्पष्ट देखिएको आयोगको भनाइ छ।
‘वैदेशिक रोजगारीका लागि प्रस्थान गर्न लागेका नेपाली नागरिकहरूलाई फर्काइनुको स्पष्ट कारण प्रकाशमा नल्याइएको एवम् श्रम प्रशासन र अध्यागमन प्रशासनबिच समन्वय, सहकार्य, सूचनाको आदान–प्रदान र विश्वसनीयताको अभावका कारण उनीहरूको आवतजावत र रोजगारीको हक उल्लङ्घन हुन गएको आयोगको प्रारम्भिक अनुगमनबाट देखिएको छ’, विज्ञप्तिमा उल्लेख छ। आयोगले आप्रवासी श्रमिकहरूको अधिकारप्रति संवेदनशील भइ वैदेशिक रोजगार व्यवस्थापनमा जिम्मेवार निकायहरू बिच प्रभावकारी समन्वय हुनुपर्ने बताएको छ।
आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारहरूको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न, सो कार्यमा संलग्न अधिकारीहरूलाई जिम्मेवार बनाउन र आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा विगतमा भएका सिफारिसहरूको कार्यान्वयनका लागि समेत आयोगले सरकारलाई अपिल गरेको छ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

