Kathmandu Press

‘सबै दोषकाे भारी सभापतिलाई बाेकाउनु गलत हाे’

पूर्वमुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले कर्णाली प्रदेशसभाको संसदीय दलको नेताका हिसाबले कर्णालीमा संगठनमा सुधारकाे काम गरे पनि आफूविरुद्ध विभवन्न गतिविधि भइरहेकाे भन्दै गुनासो गरे।
‘सबै दोषकाे भारी सभापतिलाई बाेकाउनु गलत हाे’

काठमाडौं, साउन ३ : कांग्रेस केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार सुरु भएको बैठकको दोस्रो दिन आज (बुधबार) केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। 

यसैक्रममा केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले गरेको राम्रो कामको जस कांग्रेसले नपाएको उल्टो दोषको भारी बोक्नुपरेको बताएका छन्। ‘सरकारमा हामी छौं। सरकार जनता जनताप्रति कति उत्तरदायी छ भन्ने प्रश्न छ। सरकारले गरेको राम्रो कामको जस कांग्रेसले पाएको छैन। दोषको भारी बोक्नुपरेको छ,’ उनले भने।

उनले केन्द्रीय सरकार, संसद र केन्द्रीय सदस्यका बीचमा समान्वामत्मक बैठक बस्नु आवश्यक भए पनि त्यसो नसकेको बताए। यसले पदाधिकारी र सम्पादन समितिले केन्द्रीय समितिलाई अवमूल्यन गरेको सन्देश गएको उनले बताए। पार्टीका एक किसिमको सिन्डिकेट जस्तो भएकाले त्यसलाई तोड्नुपर्ने धारणा उनले राखे।
पार्टीले आर्थिक र कूटनीतिक धारणा बनाउनुपर्ने उनको भनाइ थियो। उनले केन्द्रीय समितिलाई बाइपास गरेर सभापति भेला यसअघि नभएको उल्लेख गरे। यसको केन्द्रीय समितिले अपनत्व महसुस गर्नुपर्ने उनले बताए। 

उनले संविधानमाथि प्रहार हुने स्थिति देखिएकाले संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा व्यक्त गरे। ‘संविधान माथि प्रहार हुने स्थिति आइसकेको छ। संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्न सकिन्छ,’ उनले भने। २०८४ सालमा १८ वर्ष माथिका ३० प्रतिशत मतदाता बढ्ने भएकाले तीनलाई जोड्न उपयुक्त योजना ल्याउनुपर्ने सुझाव उनले दिए।‘यसो गर्न नसके भोलि हामी मात्रै रहन्छौं, मतदाता हामीसँग रहँदैनन्,’ उनले भने।

कोशी प्रदेश नामकरण र सरकार गठनका विषय अन्योलमा रहेको पनि उनको भनाइ थियो। युवा कांग्रेसको स्थापना गरी त्यसलाई भातृसंस्था बनाउनुपर्नेउनले बताए। विधानको सही कार्यान्वयनमा उनले जोड दिए। ‘विधानको कार्यान्वयन राम्रोसँग हुन सकेन हामी सबै वैतरणी तर्न सक्छौं,’ उनले भने।

अर्का केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बैठक लाइभ गरेर कांग्रेसले आधुनिकीकरणलाई आत्मसात गरेको बताए। ‘हामी आधुनिककरणमा गइरहेका छौं। हुम्ला देखि लाइभ हेरेर प्रतिक्रिया दिए। लाइभ गर्दा त्यो रेसपन्स आयो,’ उनले भने, ‘हिजोका कुरा गरेर अहिलेको जेनेरेशनले सुन्न तयार छैन। लाइभ गर्ने निर्णय उत्साहजनक छ।’

पूर्वमुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य शाहीले कर्णाली प्रदेशसभाको संसदीय दलको नेताका हिसाबले कर्णालीमा संगठनमा सुधारकाे काम गरे पनि आफूविरुद्ध विभवन्न गतिविधि भइरहेकाे भन्दै गुनासो गरे। ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो। म कहिल्यै नबोलाइ नेताका घरमा नजाने मान्छे हुँ। अह्राएको काम गर्ने हो। मेरा विरुद्धमा लाग्ने काम भयो। यो देखिएकै छ,’ उनले भने, ‘पार्टीका काम गरेपछि सही ढंगले हामी अघि बढ्नुपर्छ। एकले अर्कालाई दोष लगाउने काम राम्रो होइन।’

विधि र विधानमा रहेर सबै केन्द्रीय मिलेर एकजुट भएर अघि बढ्ने र सभापति, महामन्त्रीहरुलाई साथ दिने गरे पार्टीलाई राम्रो हुने उनको भनाइ थियो। ‘१५७ जना केन्द्रीय सदस्यहरु छौं। हामीले सभापति, महामन्त्रीहरुलाई साथ दिने हो। हामी सबै मिलेर एकजुट हौं। भित्र एक बोल्ने र बाहिर अर्को एक बोल्ने काम हुन्थ्यो। विधि र विधान अनुसार पार्टी अघि बढोस्,’ उनले भने।

त्यसैगरी केन्द्रीय सदस्य डा. रणबहादुर रावलले आन्तरिक रुपमा झगडा गरे पनि नेतालाई गाली गरे पनि त्यसलाई  सामाजिक सञ्जालमा छताछुल्ल पार्न नहुनेमा जोड दिए। उनले भने, ‘नेतालाई गाली गरेर फाइदा हुँदैन। आन्तरिकरुपमा झगडा गरौं, सामाजिक सञ्जालमा छताछुल्ल नपारौं।’

सामाजिक सञ्जालमा आएको उछालले राम्रा मान्छेलाई धराशायी बनाउने र खराब मान्छेलाई अघि ल्याउने काम भइरहेको उनको भनाइ थियो। सामाजिक सञ्जालकै कारण अनेक नामका पार्टी देखिएको उनले बताए। सामाजिक सञ्जालमा देखिएका समस्या सामाजिक सञ्जालमार्फत निभाउनुपर्ने उनको भनाइ थियो। नेपालमा भन्दा बाहिर झनै राष्ट्रवाद चर्किएको बताउँदै भने, ‘विदेशी नागरिकता लिएकाहरु झन चर्का राष्ट्रवादी भएका छन्। उनीहरुका कारण हामीलाई गाह्रो भइरहेको छ।’ 

अर्का केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टी गतिविधि सञ्चालन गर्दा कुनै कमजोरी भए सबै दोष सभापतिलाई मात्रै दिने नहुनेमा जोड दिए। सभापति शेरबहादुर देउवाको बचाउ गर्दै उनले भने। ‘सभापति उदार हुनहुन्छ। ‘यस्तो कलेक्टिभ नेतृत्वलाई सबै दोष लगाउने। पदाधिकारीहरूले गठबन्धन भत्किए पनि उहाँलाई दोष दिने? झारा टार्ने काम गरेर हुन्छ? सदस्यता खुला भएपछि कति जानाले पाए? सदस्यता नै कसैले लिँदैन भने बाँड्छन् के? सभापतिलाई पदाधिकारीले भनेको भए केन्द्रीय समिति २/३ महिनामै बस्थ्यो होला नि त! सबै दोष सभापतिलाई मात्रै दिने?’

फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा पदाधिकारी केन्द्रीय सदस्यका नाममा खोलिएका पेज अमर्यादित भएको बताए। ‘सामाजिक सञ्जालमा पदाधिकारी केन्द्रीय सदस्यका नाममा खोलिएका पेज अमर्यादित र लाजलाग्दो छ । नक्कली पेजबाट नेताको मानमर्दन हुने काम भएको छ,’ उनले भने। उनले लोकतन्त्र भनेको यस्तै छाडावाद हो भनी प्रश्न पनि गरे। त्यस्तो तिविधिमा संलग्न हुनेलाई कारबाहीको तहसम्म पुर्याउनुपर्ने धारणा उनले राखे। ‘चरित्रहत्याको क्षतिपूर्ति कसले दिने? आफैं  न्यायाधीश हुने, आफैं फैसला सुनाउने?

उनले कार्यान्वयन गर्न नसक्ने हो भने वार्षिक क्यालेन्डरनल्याउन महामन्त्री गगन थापालाई सुझाव दिए। ‘महामन्त्रीले ल्याएको वार्षिक क्यालेन्डर राम्रो छ। कार्यान्वयन हुनुपर्छ। लागु नगर्ने हो भने कार्यतालिका नल्याउनुस्। भोलि कार्यान्वयन नभएको दोष भोलि महामन्त्रीलाई नलगाइयोस्।’ उनले नीति महाधिवेशनको औचित्यमाथि प्रश्न पनि उठाए। ‘नीति महाधिवेशन केका लागि? के नीति फेर्ने?’ उनले भने।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्