कांग्रेस केन्द्रीय समिति बैठक : प्रदेश सभापतिहरूले के भने?
धारणा राख्ने क्रममा प्रदेश समितिका सभापतिहरूले प्रदेश संरचनाप्रति पार्टी मौन बनेको बताउँदै प्रदेश समितिलाई भमिकाविहीन बनाए पार्टी कमजोर बन्दै जाने स्पष्ट पारे। प्रदेश समितिलाई शक्तिशाली बनाएर लानुपर्नेमा उनीहरूले जोड दिएका छन्।
काठमाडौं, साउन ३ : कांग्रेस केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार सुरु भएको बैठकको दोस्रो दिन आज (बुधबार) केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। प्रदेश समितिका सभापतिहरूले प्रदेश संरचनाप्रति पार्टी मौन बनेको बताउँदै प्रदेश समितिलाई भमिकाविहीन बनाए पार्टी कमजोर बन्दै जाने स्पष्ट पारे। प्रदेश समितिलाई शक्तिशाली बनाएर लानुपर्नेमा उनीहरूकाे जोड छ।
यसैक्रममा लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले संघीयतामाथि प्रश्न उठेका बेला प्रदेश सरकारलाई पनि कमजोर बनाउने र पार्टीका संरचनालाई उपेक्षा गरेर चल्दा राम्रो नहुने बताएक छन्। ‘अधिकार खोस्ने र केन्द्रीतकृत रुपमा पालिकास्तरसम्म निर्देशन दिने काम राम्रो होइन,’ उनले भने। उनले वार्षिक क्यालेन्डरमा प्रदेश समितिलाई नजोडिएको भन्दै गुनासो गरे।
सत्तामा जानेले आफ्नो निर्वाचन क्षेत्रमा जति पनि बजेट लाने, अन्त उपेक्षा गर्ने र आफ्नो मान्छे मात्रसेटल गर्ने तरिका ठिन नभएको बताए। अघात, अन्तरघातमा लागेका मान्छेहरुलाई तरुण दलको केन्द्रीय सदस्य बनाएको बताउँदै उनले अब नेविसंघ र विभागमा पनि त्यही सक्ने आकलन गरे। तलका समिति खारेज गर्नुपर्ने केन्द्रले मात्रै चलाउनुपर्नेमा उनले जोड दिए। नेतालाई मन लागेकालाई मात्रै ठाउँ दिनु ठिक नभएको पनि उनले बताए।
त्यसैगरी मधेस प्रदेश समितिका सभापतिका कृष्ण यादवले मधेसमा कांग्रेस संगठन जिरो लेभलमा रहेको बताए। मधेस कांग्रेसको जननी भए पनि विगतका चुनावबाट मधेसमा झट्का लागेको उनको भनाइ थियो। ‘स्थानीय चुनावमा बिना गठबन्धन कांग्रेस ठुलो पार्टी बनेको हो तर प्रदेश र संघको चुनावमा त्यसो भएन,’ उनले भने।
नीति तथा कार्यक्रममा मधेस र कर्णालीलाई प्राथमिकता दिने भनिएको छ। तर कर्णालीमा १६ अर्ब बजेट विनियोजन हुँदा मधेसमा १३ अर्ब विनियोजन मत्रै भएको भनेर उनले गुनासो गरे।
‘भ्रातृसंस्थालाई पूर्णता दिँदा प्रदेश र जिल्लालाई सोध्ने काम भएन। भोट नै नदिने मान्छेलाई किन केन्द्रीय सदस्य बनाइयो? संगठनमा काम गर्न सक्नेलाई बाहिर राखेर गणेश प्रवृत्ति भएकालाई ल्याइयो,’ उनले भने। उनले भ्रातृ संगठन ‘नेविसंघ कहाँ छ? छ भनी प्रश्न पनि गरे।
उनले प्रदेश समितिलाई कमजोर बनाइएको प्रति असन्तुष्टि प्रकट गरे। ‘प्रदेश संरचना किन गठन गरियो? प्रदेशलाई जिम्मेवारी विहिन बनाउनु छ भने किन बनाइयो? खारेज गरियोस्। हामी जिल्लामै काम गर्न तयार छौं,’ उनले भने। उनल बैठक ‘लाइभ’ नहुँदा नै राम्रो हुने पनि बताए।
त्यसैगरी गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले पार्टीकै अंग भए पनि प्रदेशलाई उपेक्षा गरिएको बताए। प्रदेश संरचनालाई बलियो बनाउने, संस्थागत बनाएर जाने कुरामा केन्द्रको भूमिका हुने स्पष्ट पारे। ‘जिल्ला संचालन गर्दा प्रदेश मार्फत संचालन गर्ने काम होस्। ७७ जिल्लाका सभापतिलाई बोलाउँदा प्रदेशसभापतिलाई जानकारी नै छैन,’ उनले भने, ‘एकै चोटी केन्द्रबाट शासन गर्न भन्दा संस्थागत कार्य सञ्चालन गर्नुपर्छ। प्रदेश सभापतिको हैसियत आमन्त्रित सदस्य मात्रै हौं। हामीलाई कमजोर बनाउँदा पार्टी कमजोर हुन्छ। संगठनलाई उपेक्षा गरेर पार्टी बलियो बन्न सक्दैन।’
अहिले जनताले कांग्रेसको विकल्प खोज्न थालिनु पार्टीका लागि मात्र नभएर देशकै लागि दुर्भाग्य भएको बताए। ‘२०३३ सालमा यस्तै थियो। पार्टी कमजोर थियो र विदेशी क्रीडास्थल थियो,’ उनले भने, ‘रसियनहरुले बिपीलाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए। तर विदेशीको प्रस्ताव बिपीले स्वीकार गर्नुभएन।’ उनले भारतीय चाइनिज र अमेरिकनको सक्रियता बढेको पनि बताए।
देशलाई बचाउन कांग्रेस गम्भीर बनेर अघि बढ्न जरुरी रहेका उनको भनाइ थियो। महामन्त्रीको कार्यक्रम वार्षिक क्यालेन्डरमा समेटिएको कार्यक्रम धेरै राम्रो भएको प्रतिक्रिया दिए।
त्यस्तै सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले वार्षिक कार्यतालिका हौसिएर ल्याइएकाले कार्यान्वयनमा अवरोध आउने बताए। प्रदेश समितिको भूमिका बारे कार्यतालिका मौन रहेको उनले बताए। प्रदेश समितिले काम नगरेन पार्टी मजबुत हुन गाह्रो हुने उनको भनाइ थियो।
भ्रातृसंस्था अहिलेको आवश्यकता भएकाले तिनलाई सक्रिय बनाएर लानुपर्नेमा उनले जोड दिए। ‘भ्रातृसंस्था हाम्रा हतियार हुन्। भ्रातृसंस्था चुस्त बनाउनु आवश्यक छ। भातृसंस्थाको प्रदेश समिति तय गर्न प्रदेश समितिलाई जिम्मा दिनुपर्छ। सबै प्रदेशमा भातृसंस्थालाई चुस्त दुरुस्त बनाउन हामी सक्छौं,’ उनले भने, ‘केन्द्रमा भ्रातृ संस्थाको मौजुदा अवस्थाले हामी अघि बढ्न सक्दैनौं। एक महिनाभन्दा कम समय दिनुस्, हामी चुस्त समिति बनाउँछौं।’
केन्द्रीय समितिमा भएकाहरूले अनुशासनको ख्याल राख्नुपर्नेमा पनि उनले जोड दिए। ‘केन्द्रीय समितिमा भएका मान्छेलाई अनुशासन लाग्छ कि लाग्दैन? एउटा जिम्मेवारीमा रहेका साथीले अर्काका बारेमा राखेका तथानाम धारणाले हामीलाई फाइदा गर्छ? लगाम लाग्न जरुरी छ।’ आफू बन्ने र आफूनिकटलाई बनाउने प्रवृत्ति कांग्रेसमा हाबी भएको स्पष्ट पार्दै उनले भने, ‘अनुशासनविहीनताले कुनै पनि लक्ष्य प्राप्ति हुँदैन। प्रदेश सरकारले विगतलाई निरन्तरता दिन हो भने जनताको विश्वास झन कमजोर हुन्छ।’
अनियमितता कुनै पनि हालतमा सह्य हुन नसक्ने उनको धारणा थियो। केही मन्त्रालय र मन्त्रीका बारेमा बजारमा केही टीकाटिप्पणी आएको उल्लेख गर्दै उनले गठबन्धन सरकारको अनूभूति आफूहरूले पाउन नसकेको उनले बताए।
यसैगरी वाग्मती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले पार्टीले प्रदेशलाई कुनै भूमिका नदिएको भन्दै गुनासो गरे। उनले प्रदेशलाई अधिकार दिन नसकिने, र चाहिँदैन भन्ने निष्कर्ष हो भने संघीयता खारेजीको नेतृत्वसमेत पार्टीले नै गर्न सक्नुपर्ने बताए।
‘‘प्रदेश आवश्यक छैन खारेजी गर्ने कामको नेतृत्व कांग्रेसले गरोस्, होइन भने कांग्रेसको विधानले गरेको व्यवस्थाबमोजिम प्रदेशलाई पनि भूमिका दिइयोस्,’ उनले भने, ‘प्रदेश संरचनामाथि सबैतिर प्रश्न उठिरहेको छ। हाम्रो पार्टीभित्र पनि उही अवस्था छ। यसको समाधानको बाटो खोजियोस्।’









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

