Kathmandu Press

कांग्रेस बैठकमा प्रदेश समितिले भूमिका नपाएको गुनासो

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले मुलुकको संघीय व्यवस्थामा प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुनुपर्ने बताएका छन्।
कांग्रेस बैठकमा प्रदेश समितिले भूमिका नपाएको गुनासो

काठमाडौं, साउन ३ : नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले मुलुकको संघीय व्यवस्थामा प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुनुपर्ने बताएका छन्। उनीहरुले प्रदेशलाई भूमिका नदिइएको भन्खदै गुनासो समेत गरेका छन्।

मंगलबारदेखि जारी बैठकमा वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीले प्रदेशलाई भूमिका नदिएको गुनासो गरे। बानियाँले भने, ‘यदि प्रदेश आवश्यक छैन भने प्रदेश खारेजी गर्ने कामको नेतृत्व गरोस् । होइन भने कांग्रेसको विधानले गरेको व्यवस्थाबमोजिम प्रदेशलाई पनि भूमिका दिइयोस् ।’ उनले प्रदेश संरचनामाथि सबैतिर प्रश्न उठिरहेको पनि बताए।

यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई नसोधीकन केन्द्रले जिल्ला सभापतिको भेला गरेको बताए । वैठकमा शर्माले भने, ‘केन्द्रले सीधै जिल्ला कार्यसमितिसँग काम गरिरहेको छ। त्यस्तो कामको संयोजनमा प्रदेशलाई भूमिका दिइएको भए पनि हुने थियो, तर त्यो भएन । ७७ जिल्ला सभापतिलाई काठमाडौं बोलाइयो, तर प्रदेश सभापतिहरूलाई थाहै दिइएन । प्रदेशअनुसार जिल्ला सभापतिहरूको संयोजन गरिएको भए राम्रो हुन्थ्यो।’

संघीयताको मर्मबमोजिम प्रदेशलाई भूमिका दिँदा पार्टी थप बलियो हुने भनाई शर्माको थियो। प्रदेश सभापति शर्माले विधानतः प्रदेश सभापतिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी गराउने विषयमा समेत विधानमा संशोधन गर्न माग गरेका छन्।

यस्तै, बैठकमा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले पनि प्रदेशलाई भूमिका दिन नसक्ने भए प्रदेश संरचना हुनुको औचित्य माथि प्रश्न उठ्ने भनाई राखे । ‘केन्द्रले जिल्लासँग काम गर्छ, जिल्लाले केन्द्रसँग सीधै काम गर्छ । हामी बीचमा छौँ, हामी न तल, न माथि भएका छौँ,’ यादवले भने।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि महामन्त्रीले प्रस्तुत गरेको एक वर्षे क्यालेण्डरमा प्रदेश कार्यसमितिको भूमिकालाई समेटेर कुनै कार्यक्रमहरूको प्रस्ताव नआएको गुनासो गरे।

 

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्