सरकारी मापदण्डले उद्योग सञ्चालन गर्न कठिनाई भएको क्रसर व्यवसायीको गुनासो
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको भन्दै तत्काल सुधार गर्नुपर्ने बताए।
काठमाडौं, साउन २ : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारको वर्तमान मापदण्डका कारण उद्योग सञ्चालन गर्न कठिनाई भएको गुनासो गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको भन्दै तत्काल सुधार गर्नुपर्ने बताए।
‘कानून बमोजिम सञ्चालन गरेर कर समेत नियमित रुपमा तिर्दै आएको अवस्थामा अहिले क्रसर उद्योगहरुको नविकरण समेत नगरिएको र यसले थप समस्या सिर्जना गरेको छ,’ उनले भने, ‘राज्यको हित विपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्छ।’
बैठकमा समितिका सदस्यहरुले खानी तथा खनिजजन्य उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्या हटाउन सम्बन्धीत निकायहरुसंग छलफल गर्नुपर्ने बताएका थिए।
बैठकले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको हो।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

