सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौटको अवस्था नाजुक
सर्वोच्चको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा देशैभरका अदालतमा दर्ता भएका तीन लाख २५ हजार सात सय दुई मुद्दामध्ये एक लाख ६१ हजार ६ सय ६६ मुद्दाको टुंगो लागेको छ।
काठमाडौं, साउन २ : सर्वोच्च अदालतमा गत आर्थिक बर्षमा मुद्दा सुनुवाई र फछ्र्योटको अवस्था नाजुक देखिएको छ । यस वर्ष सर्वोच्च र मातहतका अदालतले एक वर्षमा ५०.३६ प्रतिशत मुद्दा किनारा लगाएका छन् ।
मुद्दाको किनरा लगाउनेमा उच्च अदालतहरु अघि देखिएका छन् । राष्ट्रपति समक्ष बुझाइएको सर्वोच्चको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा देशैभरका अदालतमा दर्ता भएका तीन लाख २५ हजार सात सय दुई मुद्दामध्ये एक लाख ६१ हजार ६ सय ६६ मुद्दाको टुंगो लागेको छ।
ति मुद्दा मध्ये अघिल्लो आर्थिक वर्षबाट सरेर आएका एक लाख ४३ हजार सात सय ९४ वटा र आर्थिक वर्ष २०७८÷०७९ मा दर्ता भएका एक लाख ८१ हजार नौ सय आठ गरी जम्मा तीन लाख २५ हजार सात सय दुई वटा मुद्दाको दायित्व समीक्षा अवधिमा रहेको थियो।
उक्त अवधिमा सर्वोच्च अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको २७ हजार चार सय चार र नयाँ दर्ता भएका नौ हजार सात सय ६५ गरी जम्मा ३७ हजार एक सय ६९ मुद्दाको दायित्व थियो। जसमध्ये १९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ। अब सर्वोच्चमा ३० हजार एक सय चार वटा मुद्दा विचाराधीन छन्।
उच्च अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको २२ हजार नौ सय दुई र समीक्षा अवधिमा नयाँ दर्ता भएका ४३ हजार आठ सय ४८ गरी ६६ हजार सात सय ५० मुद्दा रहेकोमा ६९ प्रतिशत फर्छ्यौट भएका छन्।
अब उच्चमा २६ हजार नौ सय ८२ मुद्दा बाँकी छन् । यता, जिल्ला अदालतहरुमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९० हजार आठ सय ३७ र नयाँ दर्ता भएका एक लाख २६ हजार एक सय ६३ गरी जम्मा दुई लाख १७ हजार मुद्दाको लगतमध्ये ५३ प्रतिशत फर्छ्यौट भएको छ।
अब जिल्लामा एक लाख दुई हजार पाँच सय ४२ मुद्दा किनारा लाग्न बाँकी रहेको प्रतिवेदनले जनाएको छ ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

