Kathmandu Press

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १० वटा एजेण्डामाथि छलफल हुने

गएको मंसिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन । आजको बैठकमा आफ्नो पक्षका मत कसरी राख्ने भनेर संस्थापन र इतर दुवै समूहका नेता तयारीमा छन् ।
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १० वटा एजेण्डामाथि छलफल हुने

काठमाडौं, साउन २ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

गएको मंसिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन । आजको बैठकमा आफ्नो पक्षका मत कसरी राख्ने भनेर संस्थापन र इतर दुवै समूहका नेता तयारीमा छन् ।

इतर समूह नेतृत्वको कार्यशैलीलगायतका विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ  भने संस्थापन पक्षले प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएको लगायत विषय उठाउँदै छ ।

हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । समसामयिक, साङ्गठनिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दल समीक्षा  र सरकारको समीक्षा गरेर १० वटा एजेण्डा तय भएका छन् ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् । 

प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, साउन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्