‘देशले विकासको फड्को मार्न राजनीति स्थिरता चाहिन्छ’
डा. भट्टराईले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताए।
गोरखा, साउन १ : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन्।
चेम्बर अफ कर्मस गोरखाले आयोजना गरेको व्यवसायीहरूसँगको छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने बताए।
‘विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ,’ उनले भने, ‘विकास र समृद्धिका लागि नयाँ ढङ्गले सोच्नु आवश्यक छ।’
डा. भट्टराईले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताए।
राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औंल्याए।
‘कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकासमार्फत नै कृषि अर्थतन्त्रलाई उद्योग प्रधान अर्थतन्त्रको विकास गर्नुपर्छ,’ उनले भने, ‘विकासका लागि पहिलो चरणमा भौतिक पूर्वाधारको निर्माण गरी विश्वबजारसँग नेपाली बजारलाई जोड्न सक्नुपर्छ।’









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

