Kathmandu Press

गाउँपालिका अध्यक्षमाथि हातपात गर्ने उपाध्यक्ष पक्राउ

गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन्।
गाउँपालिका अध्यक्षमाथि हातपात गर्ने उपाध्यक्ष पक्राउ

जुम्ला, साउन १ : जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन्।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिने तयारी गरेका छन्। कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मंगलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने प्रहरीले जनाएको छ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए।

उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन्। कार्यपालिका बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ।

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्