Kathmandu Press

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण गृह, एक महिनाको माग धान्ने

नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करिब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्यांकको पेट्रोल ट्यांक भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनभन्दा बढी माग धान्न सक्ने थानीले बताए।
पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण गृह, एक महिनाको माग धान्ने

कास्की, साउन १ : पोखरामा एक करोड लिटर क्षमताका दुई वटा भण्डारण गृह निर्माण गरिएको छ।

पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौंडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे। उनलेले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको बताए।

नेपाल आयाल निगमका प्रबन्ध निर्देशन उमेशप्रसाद थानीले गगनगौंडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुंगा सावित हुने बताए।  
    
नेपाल आयल निगमले वि.सं २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसाबले दोस्रो ठूलो पेट्रोलियम भण्डारण रहेको उनको भनाइ छ।

प्रबन्ध निर्देशक थानीका अनुसार गण्डकी प्रदेशमा हरेक दिन करिब चार लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ। हाल एक दिनमा गण्डकीमा तीन लाख २० हजार लिटर डिजल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ।

यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ। प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजलको माग करिब सात दिन र पेट्रोलको माग करिब दुई दिन मात्रै धान्न सक्ने क्षमता छ।

नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करिब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्यांकको पेट्रोल ट्यांक भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनभन्दा बढी माग धान्न सक्ने थानीले बताए।

प्रकाशित मिति: २०:२२ बजे, सोमबार, साउन १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्