‘इजरायली राजदूत गोदारको बेथानचोक भ्रमण नितान्त व्यक्तिगत र अनौपचारिक थियो’
पालिकाले कूटनीतिक मर्यादाका विषयलाईसमेत अवगत गराउँदै भ्रमणलाई राजदूत गोदारको ब्यक्तिगत र अनौपचारिक भनेको हो।काभ्रे, साउन १ : नेपालस्थित इजरालयका राजदूत हनान गोदारले बेथानचोक गाउँपालिकामा गरेको भ्रमणका विषयलाई लिएर सामाजिक सञ्जालमा भएको आरोप प्रत्यरोपको भ्रम चिर्न पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ।
राजदूतको भ्रमण हुँदा गाउँपालिकाले कुनै वास्ता नगरेको, राजदूतलाई अपमान गरेको जस्ता आरोप लगाउँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु भएसँगै राजदूत गोदारको भ्रमणको विषयलाई लिएर गाउँपालिकाले पत्रकार सम्मेलनमार्पत आफ्नो धारणा सार्वजनिक गरेको हो।
‘नेपालको संविधान २०७२, नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४, नेपाल सरकार कार्य विभाजन नियमावली २०७४, कूटनीतिक आचार संहिता २०६८ अनुरुप नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिहरुको औपचारिक भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयको स्वीकृति अनिवार्य सर्त हो । यसका लागि गाउँपालिकाबाट कुनै औपचारिक इमेल वा पत्राचार भएको छैन्,’ विज्ञप्तिमार्फत गाउँपालिकाले भनेको छ।
गाउँपालिकाले राजदूत गोदारको भ्रमणलाई नितान्त व्यक्तिगत र अनौपचारिक भनेको छ । पालिकाले कूटनीतिक मर्यादाका विषयलाईसमेत अवगत गराउँदै भ्रमणलाई राजदूत गोदारको ब्यक्तिगत र अनौपचारिक भनेको हो।
‘गत जेठ २९ गते शुक्रबार मित्रराष्ट्र इजरायलका राजदूत हनान गोदारको यस गाउँपालिकाको भ्रमण केबल व्यक्तिगत तथा अनौपचारिक हो, गाउँपालिकाले भ्रमणलाई कुनै वास्ता नगरेको भन्दै गरिएको प्रचारमा सत्यता छैन्,’ गाउँपालिकाले भनेको छ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीकै निमन्त्रणामा राजदूत गोदारले भ्रमण गर्न लागेको र आवश्यक सुरक्षा व्यवस्था मिलाउन जारी गरिएको पत्रप्रति समेत पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।