Kathmandu Press

परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेट

मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेट

काठमाडौं, असार २९ : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सोपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगलाई निरन्तरता दिने विषयमा उहाँहरूबीच छलफल भएको थियो। साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटमा प्राप्त भएको विशेष सहयोगका लागि अमेरिकाप्रति कृतज्ञता व्यक्त गरेका थिए। सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

लुले अमेरिकामा ठूलो संख्यामा रहेका नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए।

सो अवसरमा उनीहरूबीच दुई देश बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्षमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्त्वबारे चर्चा भएको थियो।

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, असार २९, २०८०