अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग भेट्ने
केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु एक दिने भ्रमणका लागि शुक्रबार बिहान नेपाल आएका हुन्।
काठमाडौं, असार २९ : दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्। केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु एक दिने भ्रमणका लागि शुक्रबार बिहान नेपाल आएका हुन्।
भ्रमणका क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। यस्तै, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नेछन् ।
सहायक विदेशमन्त्री लुले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ। दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ।
नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि बुझ्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए।










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
