Kathmandu Press

आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत

कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे।
आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री डा. महत

काठमाडाैं, असार २८ : अर्थमन्त्री डा प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन्।

कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु देखिएको उल्लेख गर्दै उनले समग्रमा आर्थिक अनुशासन कायम राख्ने र थप बढ्न नदिनेमा प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा उनले विभिन्न स्वरुपमा बेरुजु रहने भएकाले त्यो सबै दुरुपयोग भयो भन्नु गलत रहेको बताए। आर्थिक अराजकता नियन्त्रणका लागि आफू पूर्णरुपमा लागिपरेको बताए।

मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोषमा रकम राखिएको जानकारी दिए। विविध शीर्षकमा बढी बजेट राखिएको भन्ने सांसदहरुको जिज्ञासाको जवाफमा मन्त्री डा महतले अत्यावश्यक समस्यामा खर्च गर्ने रकमको जोहोका लागि विविध शीर्षकमा बजेट राखिएको बताए।

उनले राष्ट्रियसभाका सदस्यका तर्फबाट प्राप्त भएको सुझावलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्थमन्त्री डा महतले आर्थिक अनुशासन कायम गरिने र त्यसमा कुनै आशङ्का नगर्नसमेत आग्रह गरे। बजेट कार्यान्वयमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उनको भनाइ छ।

बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको अर्थमन्त्रीले जानकारी दिए। बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको उल्लेख गरे। मन्त्री डा महतले सो आयोजना निर्माणका लागि कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको भनाइ राखे।

मुलुकका आइपर्ने अत्यावश्यक कामका लागि खर्च गर्नका लागि विविध शीर्षकमा रकम राख्नैपर्ने उल्लेख गर्दै उनले प्राकृतिक विपद्लगायत कामका लागि अनावश्यक खर्च निषेध गर्ने र अनुशासन कायम गर्न आफू पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

अर्थमन्त्री डा. महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने बताए। आम्दानी नै कम भएकाले सङ्घीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उनको भनाइ छ। बेथितीका कारण जोडिँदै आएका समस्या समाधानका लागि आफूले इमान्दार प्रयास गरेको अर्थमन्त्री डा. महतको दाबी छ।

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्