Kathmandu Press

शरणार्थी नेता रिजाललाई ‘सुरक्षा थ्रेट’ र ‘स्वास्थ्य समस्या’ भन्दै रिहाइको गर्न माग 

शरणार्थी नेता रिजाललाई ‘सुरक्षा थ्रेट’ र ‘स्वास्थ्य समस्या’ भन्दै रिहाइको गर्न माग 

काठमाडौं, असार २८ : राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान संस्थाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको आदेश अनुरुप थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई तत्काल रिहाको माग गरेको छ। 

रिजाललाई सुरक्षा थ्रेट र स्वास्थ्यसम्बन्धी समस्या समेत रहेको बताउँदै रिहाइको माग गरिएको हो। अभियानका संयोजक राम कार्कीले बिहीबार एक विज्ञप्ति जारी गर्दै रिजालको चाँडो रिहाइको माग गरेका गरेका हुन्। यस्तै अभियानले रिजालले दिएको बयानका कारण कतिपय अभियुक्तहरु समस्यामा परेकाले बयान फेर्न दबाब दिएको दाबीसमेत गरेको छ। रिजालका वकिल रामकुमार सुवालको भनाइका आधारमा भिआइपी अभियुक्त टोपबहादुर रायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेको दाबी अभियानले गरेको छ। 

अभियानको विज्ञप्तिमा उल्लेख छ, ‘हालैका समाचारहरूका अनुसार अभियान आफ्नो गहिरो चिन्ता व्यक्त गर्न चाहन्छ। टेकनाथ रिजाल भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च-प्रोफाइलका बन्दीहरूबाट अदालतको बयान परिवर्तन गर्न दबाब दिने प्रयास भइरहेको छ।’ 

रिजाललाई अर्का थुनुवा इन्द्रजित राईसँगै राखिँदा सुरक्षा चिन्ता भएको दाबीसमेत गरिएको छ। रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रूपमा नाम लिएका राईसँगै राखेको, यही कारणले रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको तथा रिजाल कमजोर र फिक्का देखिएको भनाइ अभियानको छ। यस्तै रिजालले बस्ने, राम्रो ओड्ने, ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको समेत जनाइएको छ। रिजाल बारम्बार चिसोका कारण अस्वस्थ भएको समेत जनाइएको छ। 
‘भुटान भित्रै रहेका मानवअधिकारका पक्षधरलाई खोजीखोजी जेलमा बन्दी बनाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुःखदायी र पीडादायी जीवन बिताउन भुटानी राजाले विवश बनाइरहेका छन्। उनीहरूको तत्काल रिहाइका लागि भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्दछ।’

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, असार २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्