आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक ‘वान वे’ बनाउँदै महानगर
महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा वान वे बनाउन लागिएको महनगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
काठमाडौं, असार २७ : दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकलाई ‘वान वे’ बनाउने तयारी गरेको छ।
महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा वान वे बनाउन लागिएको महनगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सडक वान वे कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ। त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ।
अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ। यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुनेहुँदा सडकको मर्मतसम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले बताए।
सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । नियमअनुसार आठ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ।
कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक नौ सय ५० किलोमिटर छ। कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो। कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ रकम विनियोजन गरेको छ।
सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन २५ करोड विनियोजन गरिएको छ।
त्यस्तै महानगरभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौं योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि एक अर्ब छुट्याएको छ।











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)