'जनयुद्धका समयमा सँगै हिँडेर पुष्पकमललाई प्रचण्ड बनाउने काम सीताले नै गर्नुभयो'
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गरे। उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे।
काठमाडाैं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले संकटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमा रुपमा लिने गरेको स्मरण गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गरे। उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे।
माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न संकट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाइबुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गर्नुभएको स्मरण गरे।
'हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठीन घडी र संकटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पुर्याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गर्नुभयो,' उनले भने।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवंगत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताए। 'अध्यक्षको भूमिकालाई प्रभावकारी बनाउने र पार्टी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गृहणी मात्र नभई सक्रिय योद्धाकै भूमिका रह्यो,' उनले भने, 'अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने, चित्त नबुझेको कुरा सोझै भन्ने र रोक्न सक्ने क्षमता थियो।'
गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरण मात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर प्रचण्डलाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गरे।
पार्टीमा संकट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उनले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताए। सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रुपमा रहेको बताइन्। 'आज हामीले अभिभावक गुमाएका छौं। सिंगाे पार्टी पङ्क्ति मर्माहत छ। पार्टी आन्दोलन र सङ्गठन निर्माणका क्रममा नेता तथा कार्यकताको संरक्षणका क्रममा उहाँले गर्ने मूल्याङकन असाध्यै न्यायिक थियो,' उनले भनिन्।
पूर्वमन्त्री शशी श्रेष्ठले पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीताको धेरै ठूलो योगदान रहेको बताइन्। 'घर परिवार सम्हाल्ने मात्र होइन, जनयुद्धका समयमा सँगै हिँडेर पुष्पकमललाई प्रचण्ड बनाउने काम उनले नै गर्नुभयो,' उनले भनिन्।











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)