Kathmandu Press

सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रचण्ड र दुई छोरीले दिए दागबत्ती

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ६९ वर्षको उमेरमा आज (बुधबार) बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियाे।
सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रचण्ड र दुई छोरीले दिए दागबत्ती

काठमाडौं, असार २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उनलाई प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिए। सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ६९ वर्षको उमेरमा आज (बुधबार) बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियाे।

पशुपति आर्यघाट लैजानुअघि उनको शव नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए।

मन्त्रिपरिषद् बैठकले गरेकाे निर्णयअनुसार उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएकाे थियो। सीताको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको  हाे।

दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो। ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

पशुपति आर्यघाटमा नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उहाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो।

पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेर बहादुर देउवा, माधव कुमार नेपाल पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। सीता दाहाललाई अन्तिम बिदाइ गर्न ठूलो संख्यामा शुभेच्छुकहरु पशुपति पुगेका थिए।

 

प्रकाशित मिति: १५:४१ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्