पारिवारिक वियोगले भरिएको प्रचण्डको राजनीतिक जीवन
उपचारमा संलग्न चिकित्सकले बताए अनुसार सीता लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) बाट ग्रसित थिइन्। सीतालाई रोगको उपचारका लागि अमेरिका र भारतका विभिन्न अस्पताल समेत लगिएको थियो।
काठमाडौं, असार २६ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छ।
उपचारमा संलग्न चिकित्सकले बताए अनुसार सीता लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) बाट ग्रसित थिइन्। सीतालाई रोगको उपचारका लागि अमेरिका र भारतका विभिन्न अस्पताल समेत लगिएको थियो।
नर्भिक अस्पतालका चिकित्सकले बताए अनुसार लामो समय विरामी रहेकी सितालाई बुधवार विहान ‘हर्ट अट्याक’ भएको थियो।
एक दशक अघि प्रधानमन्त्री प्रचण्डका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालले २०७० सालमा स्तन क्यान्सर रोगका कारण मृत्युवरण गरेकी थिइन्। ४० वर्षकै उमेरमा ज्ञानुले क्यान्सरका कारण देह त्याग गरेकी थिइन्। जेठी छोरीको मृत्युपछि पनि प्रधानमन्त्री प्रचण्डले लगातार दुईवटा बज्रपात सहनुपरेको छ। त्यस्को चार बर्षपछि छोरा प्रकाशको मृत्यु भयो। २०७४ मङ्सिर ३ गते लाजिम्पाटमा रहेको प्रचण्ड निवासमा छोरा प्रकासको मृत्यु भएको थियो। निधन हुँदा प्रकाश ३६ वर्षका थिए।
छोरा प्रकासको पनि हर्ट एट्याककै कारण मृत्यु भएको भनिए पनि ठोस कारण भने अझै खुल्न सकेको छैन। परिवारमा एकपछि अर्को बज्रपातका कारण प्रचण्डलाई पिडामाथि पिडा थपिएको छ। पत्नी सिताको विग्रँदो स्वास्थ्य अवस्थाका कारण प्रचण्ड पछिल्लो समय निकै दुखि बनेको निकटस्थहरु बताउँछन्।
सीता लामो समयदेखि ओछ्यान पर्दा प्रधानमन्त्री प्रचण्ड वैचैनीमा थिए। सिता २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी थिइन्। १५ वर्षकै उमेरमा २०२६ सालमा सिताको प्रचण्डसँग विवाह भएको थियो।
२०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी सिता जिल्ला, क्षेत्र हुँदै उनी माओवादी केन्द्रको विभिन्न जिम्मेवारी समालेकी थिइन्। माओवादीले सशस्त्र विद्रोह शुरु गरे लगत्तै २०५२ साल फागुन १ गतेबाटै सिता आफ्ना पति प्रचण्डसँगै भूमिगत भएकी थिइन्।
माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिक रुपमा करिव निश्क्रिए देखिएकी दाहाल पछिल्लो समय माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन्। रोगले थला परेपछि सिताको राजनीतिक मात्र नभै शारिरिक रुपमा समेत निष्क्रिय हुँदै गएकी थिइन्।
छोरा प्रकाशको अल्पायुमै निधनपछि सीतामा स्वास्थ्य समस्या देखिन थालेको निकटस्थहरु बताउँछन्। केही महिनायता अचेत अवस्थामा रहेकी उन्को बुधवार बिहान प्राण पखेरु उड्यो। सीताको निधनसँगै प्रधानमन्त्री प्रचण्डले एक दशकभित्रै तीनवटा वियोग खेप्नुपरेको छ।











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)