Kathmandu Press

समाजवादी मोर्चाको बैठक स्थगित

चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको थियो।
समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडाैं, असार २७ : समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको थियो।

आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल तथा नेकपा माओवादी केन्द्र०का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्कबहादुर विश्वकर्मा सहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने कार्ययोजना रहेको थियो।

यही असार २३ गते बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो। साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी भएको उपाध्यक्ष पाण्डेले बताए।

मोर्चाले यसअघि कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो। यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, असार २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्