माओवादीले भन्यो- सीता दाहालको निधनबाट अपूरणीय क्षति
उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन्।
काठमाडौं, असार २७ : नेकपा माओवादी केन्द्रले पार्टीको सल्लाहकार तथा अध्ययक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ।
माओवादीका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन्।
दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएका छन्। उनले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन्।
उनले दिवंगत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ।’
माओवादीका सल्लाहकार दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । वि.सं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा अध्यक्ष दाहालसँग विवाह भएको थियो।
विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी थिइन्।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय उहाँ पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।
चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ। छोरी रेनु र गंगा राजनीतिमै सक्रिय छन्।











![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)