Kathmandu Press

‘सरकारले निजामती कर्मचारीकाे मनोबल गिराउने काम गरेको छ’

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफ्नो उद्देश्य पूरा गर्नलाई निजामती कर्मचारीहरुलाई तर्साउने काम गरेको यसले कर्मचारीहरुको मनोबल गिरेको गुनासो गरेका हुन्।
‘सरकारले निजामती कर्मचारीकाे मनोबल गिराउने काम गरेको छ’

काठमाडाैं, असार २६ : निजामती कर्मचारीहरुका विभिन्न संगठन (ट्रेड युनियन) हरुले सरकारले निजामती कर्मचारीका मनोबल गिराउने काम गरेको गुनासो गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफ्नो उद्देश्य पूरा गर्नलाई निजामती कर्मचारीहरुलाई तर्साउने काम गरेको यसले कर्मचारीहरुको मनोबल गिरेको गुनासो गरेका हुन्।

सरकारले संघीय निजामति ऐन ल्याउन नसक्नुको परिणाम अहिले कर्मचारीहरुले भोग्नुपरेको उनीहरुको बुझाइ छ। कर्मचारीहरु ऐन, नियम र कानुनको आधारमा चल्छन् भनेर डराएर सरकारले ऐन नल्याएको उनीहरुको आरोप छ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालचन्द्र पोखरेलले सरकारले भ्रष्टाचारी निजामती कर्मचारी मात्रै रहेको र अरु सबै चोखा हुन् भन्ने भाष्य निर्माण गरेको आरोप लगाए।

उनले सरकारले निजामति सेवालाई तहसनहस गर्ने उद्देश्य लिएको भन्दै आफूहरु सरकारको निर्णय प्रक्रियामा अब आँखा चिम्लिएर सहभागी नहुने जिकिर गरे। कर्मचारीहरु हुँदै मन्त्रीस्तरमा पुगेको निर्णयमा कर्मचारीलाई पक्राउ गर्नु गलत भएको उनले बताए।

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले नेपालको निजामती कर्मचारी प्रशासन उत्कृष्ठ र अनुशासित रहेको बताए। नेपालका निजामती कर्मचारीले सार्क राष्ट्रका देशको भन्दा सबैभन्दा थोरै तलब र चेनअफ कमाण्डमा काम गरेको उनले बताए।

एकीकृत कर्मचारी संगठनका अध्यक्ष गगन विष्टले कुनैपनि कर्मचारीले बदनियतपूर्वक काम गरेको भएमा कारबाहीको भागिदार हुनुपर्ने बताए। सञ्चार सचिव राउतले कुनै प्रमाण नष्ट गराउने अवस्था नरहेकाले छानबिनको क्रममासमेत थुनामा राख्न आवश्यक नरहेको उनको भनाइ छ। यही मुद्दाले सचिव राउतलाईलाई अख्तियारले दोषी नरहेको भनी फैसला गरिसकेको अवस्थामा पक्राउ पर्नु आपत्तिजनक रहेको उनले बताए।

पेशागत महासंघका महासचिव राजन रेग्मीले सरकारमा बस्नेहरुले संविधान लागू भएको ८ वर्ष वित्नै लाग्दा पनि सरकारले संघीय निजामति ऐन नल्याएर बेथिति निम्त्याएको आरोप लगाए। राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रका अध्यक्ष हरि रावलले राज्यले दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषहरुलाई सरकारले आफ्नो प्रतिष्ठाको क्षेतिपूर्तिसहित सम्मान गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्