Kathmandu Press

सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउन लाग्नुपर्छ : मन्त्री गुरुङ

मन्त्री गुरुङले केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्न जिल्ला समन्वय आवश्यक भएको तर्क गर्दै सुरुको अवस्थामा केही समस्या भए त्यसलाई परिमार्जन गरेर जान सकिनेमा जोड दिए। 
सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउन लाग्नुपर्छ : मन्त्री गुरुङ

ललितपुर, असार २६ : सहरी विकासमन्त्री सीता गुरुङले सबैको जीवन पद्धतिमा  परिवर्तन ल्याउन लाग्नुपर्नेमा जोड दिनुभएको छ।

ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभा शुभारम्भ गर्दै उनले विगतमा लामो समयसम्म राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि लाग्नु परेको थियो अब भने आर्थिक रुपान्तरण र सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउनका  लागि लाग्नुपर्ने बेला आएको बताएका हुन्। 

मन्त्री गुरुङले भने, 'सबै समस्याका लागि सिंहदरबार नै ताक्नुपर्ने अवस्था थियो, त्यसलाई परिवर्तन गर्न स्थानीय सरकार बनाइएकोे हो, बढी अधिकार स्थानीय सरकारलाई दिने अभिप्राय अनुरुप २२ वटा अधिकार स्थानीय सरकारलाई नै दिइएकाले सानातिना काम जनताको घरदैलोमा नै सम्पादन गर्न सकिन्छ।

उनले जिल्लाभित्रै पनि स्थानीय सरकारहरुबीच समन्वय गरेर कामहरूलाई सहज बनाउन, प्रदेश र सङ्घबीच समन्वय गर्न जिल्ला समन्वय समिति आवश्यक रहेको बताउँदै अनुगमन, मूल्याङ्कन र समन्वयलाई मुख्य प्राथमिकतामा राखेर काम हुन नसकेकाले देशैभर समस्या भएको बताए।

मन्त्री गुरुङले केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्न जिल्ला समन्वय आवश्यक भएको तर्क गर्दै सुरुको अवस्थामा केही समस्या भए त्यसलाई परिमार्जन गरेर जान सकिनेमा जोड दिए। 

प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले समन्वय गर्ने मुख्य जिम्मेवारी रहेको जिल्ला समन्वय समितिलाई वडा र पालिका, स्थानीय तह तथा प्रदेशका साथै केन्द्रीय तहसम्म समन्वय गर्न अधिकार दिइए पनि जिम्मेवारीअनुसार बजेट भने नपुगेको बताए। उनले भूकम्प पीडितहरुको समस्या समाधान हुन अझै बाँकी रहेको र ललितपुरलाई बजेटमा विभेद गरिएको गुनासो गरे।

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले स्थानीय तह र सङ्घसंस्थाबीचको समन्वयमा जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले हरेक अभियानमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउँदै हरियाली प्रवर्धन, नदी सरसफाइ, जनताको चाहनाअनुसारको विकासका लागि  भूमिका निर्वाह आग्रह गरे। 

वाग्मती प्रदेशसभा उपाध्यक्ष अप्सरा चापागाईं घिमिरेले यस समितिलाई जिल्लाभित्र भएगरेका कामको अनुगमन र समन्वय गर्ने अधिकार भए पनि आर्थिक अधिकार र काम गर्ने वातावरण सृजना हुन नसक्दा समस्या भएको बताए। 

वाग्मती प्रदेशसभा सदस्यद्वय उर्मिला केसी तथा मधुसूदन पौडेल, महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिका प्रमुख गणेश केसीलगायतले आआफ्नो धारणा व्यक्त गरेको सो कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले बनेपाबाट हेटौँडा पुग्ने बाटो र टुङ्गुन करिडोर हुँदै हेटौँडा जाने बाटोलाई प्राथमिकतामा राख्न, सार्वजनिक विद्यालय सुधार गर्न र शिक्षा लाई गुणस्तरीय प्रभावकारी तथा चुस्तदुरुस्त बनाउनका लागि आवश्यक व्यवस्था र पहल गर्न आग्रह गरेका थिए। 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, असार २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्