एमाले सरकार बनाउने खेलमा छैन : ओली
पार्टी कार्यालय च्यासलमा बसेको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ तिर केन्द्रित भएको बताए।
काठमाडौं, असार २६ : एमाले अध्यक्ष केपी ओलीले आफूहरू सरकार बनाउने खेलमा नरहेको स्पष्ट पारेका छन्। पार्टी कार्यालय च्यासलमा बसेको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ तिर केन्द्रित भएको बताए।
‘हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छैनौं। हामी ग्रासरुटमा लाग्यो। अहिले हामी अब मिसन २०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं,’ उनले भने, ‘यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन। हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन।’
उनले वर्तमान सरकारको तागत भनेकै झुट बोल्नु रहेको बताएका छन्। ‘अहिलेको सरकारको तागत झूट बोल्ने र अफवाह फैलाउने मात्रै हो। गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ। त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन्,’ उनले भने, ‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ उनले अघि भने, ‘अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’
सरकारले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरेको तथा मिटरब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको उनको भनाइ थियो।











