ललिता निवास प्रकरणका कसुरदारले दण्ड पाउनुपर्छ : अध्यक्ष नेपाल
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ।’
पाल्पा, असार २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणका कसुरदारले दण्ड पाउनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ।’
आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको उनले बताए। साे प्रकरणमा नाम जाेडिनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नभएकाे उनले बताए।
साे प्रकरणसँग जाेडेर आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको पनि उनले बताए। कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्नेमा उनले जाेड दिए।
‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ,’ उनले भने। नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रस्टकाे जग्गालगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने कार्य गरेको भन्दै उनले प्रशंसा गरे। वर्तमान सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने पनि उनले बताए । सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको र त्यसमा विचार मिल्ने पार्टीहरु एकठाउँमा आउँदा कोही पनि त्रसित हुनुनपर्ने बताए।











