बजेट संशोधन गर्न सुदूरपश्चिम सरकार तयार
सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरि सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ।
कैलाली, असार २६ : सत्तारुढ तीन दलले यथास्थितिमा बजेट पास गर्न नसकिने निर्णय गरेपछि दबाबमा परेको सुदूरपश्चिम सरकार बजेट संशोधनका लागि तयार भएको छ।
सत्ता साझेदार दलहरु माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले सोमबार साँझ यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेका थिए। सत्ता साझेदार दलको यस्तो अडान पछि दाबबमा परेको सुदूरश्चिम सरकार बजेट संशोधनका लागि तयार भएको हो ।
तीन दलले बजेट पारित गर्न नसकिने निर्णय गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो।
सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरि सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ।
सरकारले बजेटमा समावेश गर्न छुटेका सांसदहरुले पेश गरेका योजना समेटेर संशोधन प्रस्ताव तयार गर्नेछ । तर उक्त प्रस्तावमा ‘संशोधन प्रस्ताव’ भन्ने शब्दावली नराख्ने समझदारी पनि बनेको बताइएको छ।











