‘मिटरब्याजसम्बन्धी विधेयक अर्को बैठकमा पास हुन्छ’
सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको बताइन्।
काठमाडौं, असार २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छिन्।
सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको बताइन्।
‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ । मिटर ब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ,’ उनले भनिन्।
मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो।
तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो।











