प्रतिपक्षीलाई प्रधानमन्त्रीको प्रश्न– प्रतिपक्षीले माग्दैमा राजीनामा दिनुपर्ने हो?
प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उनले आपत्ति जनाएका छन्।
काठमाडौं, असोज १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको बताएका छन्।
सोमबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर नदिइएको बताए। प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उनले आपत्ति जनाएका छन्।
साथै प्रमुख प्रतिपक्षी दल एमालेलाई लक्षित गर्दै उनले यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति नभएको पनि बताए। राजीनामा माग गर्दै तीन दिनसम्म संसद् अवरुद्ध पारिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए।
‘म त सुरूदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ, राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो,’ उनले भने, ‘के यही यो संसदीय अभ्यास रु एकचोटि मैले यो सदनसमक्ष भन्न पाउनुपर्दैन रु किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?’
संसद्मा आज आफू प्रतिवादका लागि उभिएको नभएर स्पष्टीकरणका लागि उपस्थित भएको पनि उनले बताए । ‘मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो?,’ उनले भने, ‘यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति? यी मेरा प्रश्नहरू मात्रै हुन्।’











