संसदमा रविको प्रश्न : संसद ३ दलले बन्धक बनाउन मिल्छ ?
संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।
काठामाडौं, असोज २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ३ दलले संसद्लाई बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? भन्दै प्रश्न पनि गरे।
संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।
‘तीन दलले संसद् बन्धक बनाउन मिल्छ ? हामी कतिपय एजेन्डामा सरकारसँग हुन्छौं कतिपय एजेन्डामा प्रतिपक्षसँग,’ उनले भने, ‘व्यवसायीको मुद्दा जोडिएको छ । व्यापार गरेर बाँचेको मान्छे बैंकको ब्याज तिर्न नसकेर पीडित बनेको छ्। त्यसका बारेमा बोल्न पर्दैन? माइतीघरमा लाइन लागेर बसेका विषयमा बोल्न मिल्दैन ? बाटो अवरुद्ध छ त्यसमा बोल्न मिल्दैन?’
लामिछानेले शीर्ष नेतालाई मुड नचल्दैमा सदन रोकिन नहुने बताए । उनले भने, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं।’











