‘आफूलाई जोडेर सार्वजनिक भएको अडियो बदनियतपूर्ण’
प्रहरी अनुसन्धानबाट अडियोको आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको र अडियो नै बद्नियतपूर्णरुपमा आएको भनाई नेतृ राणाले राखेकी छन्।
काठमाडौं, असार २५ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छन्।
राणाले उक्त अडियोको अनुसन्धान गर्न प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सोही तथ्य प्रमाणित भएको भनाइ राणाको छ। उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा. राणा र मञ्जु खाँडलाई जोडेर कुराकानी गरेको बिषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन समेत परेको थियो।
अडियोको छानविन गर्न डा. राणाले निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भनाई राणाको थियो।
अनुसन्धानबाट फेक अडियो बनाउने व्यक्ति र सामाजिक सञ्जालमा राख्नेको पहिचान गरी कारबाही गर्न प्रहरी समक्ष माग थियो । फोनमा बोलेको भनिएका सन्देश शर्माले सिआइवीमा दिएके बयानमा समेत डा.राणालाई आफूले नचिनेको र यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए।
प्रहरी अनुसन्धानबाट अडियोको आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको र अडियो नै बद्नियतपूर्णरुपमा आएको भनाई नेतृ राणाले राखेकी छन्।
आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र रहेको भनाई उनको छ।
‘पहिले नै सो व्यक्तिले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरुपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै संलग्नता छैन,’ रासससँगको कुराकानीमा नेतृ राणाले भनेकी छन्।











