Kathmandu Press

संसद् भवन निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारमा निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा खुशी व्यक्त गर्दै कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे।
संसद् भवन निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा निर्माणाधीन  संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा खुशी व्यक्त गर्दै कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे।

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलोका रुपमा रहेको संघीय संसद्को काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको नयाँ सरकार गठन भएपछि कामले गति लिएकामा संलग्न सबैलाई आभार व्यक्त गरे।

उनले कुनै समस्या उत्पन्न भएमा तीन दिनभित्रै समाधान गर्नेगरी सहरी विकासमन्त्री सीता गुरुङले आवश्यक प्रबन्ध गरेको धन्यवाद दिए। उनले कामको गति थप कसरी बढाउन सकिन्छ भन्नेबारेमा मन्त्री, सचिवलगायतका अधिकारी र निर्माण व्यवसायीलाई आवश्यक परामर्श गर्नसमेत निर्देशन दिए।

प्रधानमन्त्रीले सो अवसरमा निर्माणाधीन १२ वटै भवनको अवलोकन निरीक्षण गरेका थिए। आफूले यसअघि नै नेपाल औषधि लिमिटेड रहेको स्थानमा संसद् भवन बनाउने उद्देश्यले अवलोकन गरेकोसमेत स्मरण गरे। प्रधानमन्त्रीले हाल निर्माणाधीन भवन सुविधा सम्पन्न रहेको र यसले संसद्का काम कारबाहीलाई थप गति दिन बल पुग्नेसमेत बताए।

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, असार २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्