‘भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण’
प्रधानमन्त्री दाहालले संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरेका कारण समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताए।
काठमाडौं, असार २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा बालुवाटारमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ कार्यक्रममा उनले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरेका कारण समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताए। उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत जोड दिए।
राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनले बताए। उनले भने, ‘युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउ पुष्पलालले अनुसरण गरेको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्छ।’
प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताए। ‘जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ,’ उनले भने।











