लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै
‘यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौं,’ मुख्यमन्त्री चौधरीले भने।
दाङ, असार २४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।
नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए।
‘यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौं,’ मुख्यमन्त्री चौधरीले भने।
उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि एक अर्ब छुट्याएको र संघबाट पनि सो अपेक्षा राखेको बताए।
मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए।
उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे।











