संसद सहज रुपमा चल्नुपर्छ, प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्छ : रवि लामिछाने
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन्।
काठमाडौं, असार २४ : राष्ट्रिय स्वतन्त्र पार्टीले संसद सहज रुपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन्।
उनले सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भए पनि तत्कालका लागि प्रधानमन्त्रीलाइ जवाफ दिन सदन चलाउनुपर्ने बताए। रास्वपालाई कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उहाले सवै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेण्डा रहेको तर्क गरे।
लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभइ जनताप्रति उत्तरदायी हुने विषय भएको बताए। उनले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाइ बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए। लामिछानेले आफूहरु जनताको मुद्दाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पारे।
उनले मिटरव्याजी सम्बन्धी कानून लागू हुनुपर्छ पक्षमा रास्वपा रहेको तर सरकारले अन्तिम दिनमा सदनमा ल्याएर आफु जनप्रिय छु भन्ने देखाउन खोजेको पनि बताए। उनले महत्वपूर्ण विधेयकहरुप्रति रास्वपा सचेत रहेको धारणा राखे।











