‘ससाना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैंका लागि बन्द गर्नुपर्छ’
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असार २४ : माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ससाना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैंका लागि बन्द गर्नुपर्ने बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने बताएका हुन्। उनले पटकपटक सदन अवरुद्ध गरेर एमालेले नयाँ रेकर्ड कायम गर्न खोजेको टिप्पणी गरे। उनले एमाले सकारात्मक भए मिटरब्याजसम्बन्धी कानुन छिटै अघि बढ्ने जिकिर गरे।
त्यस्तै कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको राजनीतिमा अनुकूलको व्याख्याले समस्या सिर्जना भएको बताए। दक्षिण र उत्तरलाई हेर्ने दृष्टिकोण सत्तामा रहँदा एउटा र विपक्षमा हुँदा अर्को हुने प्रवृतिलाई अन्त्य गर्नुपर्ने उनले बताए। उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको आशय प्रस्ट पार्न पनि सदन चल्नुपर्ने जिकिर गरे।
त्यस्तै एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको र यसले नयाँ समस्या सिर्जना गरेको बताए। उनले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजेको जिकिर गरे। उनले मिटरव्याज समस्या समाधानका लागि सरकारले ढिलागरी सदनमा विधेयक ल्याएका कारण समस्या भएको र यसमा पनि एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताए।











