प्रधानमन्त्रीले आत्मालोचना गर्ने भएपछि एमाले सदनको गतिरोध हटाउन तयार
प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडानमा रहेको उक्त दल प्रधानमन्त्रीकाे स्पष्टीकरण सुन्न राजी भएको छ। तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे पुनः सदन अवरुद्ध गर्ने चेतावनी एमालेले दिएको छ।
काठमाडौं, असार २४ : एमालेले सदनको गतिरोध हटाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादास्पद अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले एक कदम पछाडि हटेर सदन चल्न दिने भएकाे छ।
प्रधानमन्त्रीले आत्मालोचनासहित आफ्नो अभिव्यक्ति सच्याने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ। प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडानमा रहेको उक्त दल प्रधानमन्त्रीकाे स्पष्टीकरण सुन्न राजी भएको हाे। तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे पुनः सदन अवरुद्ध गर्ने चेतावनी एमालेले दिएको छ।
गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक नयाँ दिल्ली धाएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिकाे चाैतर्फी आलाेचना भएकाे थियाे। सो अभिव्यक्तिका कारण संसदको अपमान भएको, नेपाली जनताको सार्वभौमिकतामा ठेस पुगेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको थियो।
संसदलाई निकास दिने विषयमा प्रधानमन्त्री दाहालले आइतबार एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। सोही छलफलपछि एमाले प्रधानमन्त्रीको जवाफ सुन्न तयार भएको स्रोतको भनाइ छ।











