अनल गौतमले ल्याए एक साथ २ पुस्तक
पुस्तक वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतले लोकार्पण गरे।
काठमाडौं, असार २४ : साहित्यकार अनल गौतमले एकै पटक दुई पुस्तक बजारमा ल्याएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गौतमद्वारा लिखित उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण गरियो।
पुस्तक वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतले लोकार्पण गरे।
लोकार्पण समारोहमा लेखक गौतमलाई बधाई दिँदै कलाकार मदनकृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै नै रोचक र समयसामयिक लागेको बताए।
कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकले अवश्य छुने धारणा व्यक्त गरे।
समालोचक डा.रामप्रसाद ज्ञवालीले ‘बार्दली’को समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे। उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा।ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे।
कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशनसँगको सहकार्यमा दुई वटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताए।
मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ।
२०३८ साल असार १७ गते हेटौंडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गरेका हुन्। त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए ।
गौतमलाई साहित्यकारको रुपमा स्थापित गर्ने काम उनले २०७० मा प्रकाशित गरेको कथोपन्यास ‘घाट घाटका कथा’ ले गर्यो । यो कथोपन्यासमार्फत उनी पाठकको मन–मनमा बस्न सफल भएका थिए । २०७० सालमै गौतमले गीति संग्रह ’सरसी’ पनि प्रकाशित गरेका थिए।












