Kathmandu Press

राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

संसद् अवरोध भएका सम्बन्धमा शीर्ष नेताहरु छलफल र संवादमा लाग्नुहुने विश्वास व्यक्त गर्दै उनले सदनलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरे।
राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं, असार २४ : प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो। बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए।

एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्मा अवरोध कायमै रहने बताइन् । एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै उनले आफ्नो विचार राखेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे। संसद् अवरोध भएका सम्बन्धमा शीर्ष नेताहरु छलफल र संवादमा लाग्नुहुने विश्वास व्यक्त गर्दै उनले सदनलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरे।

‘माननीय सदस्यहरु, म फेरि यहाँहरुलाई बस्न आग्रह गर्दछु । संवादबाट नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले आफ्ना विषयलाई उठाउने र सँगसँगै संसद्को नियमित कारबाहीलाई पनि अगाडि बढाउँदा नै ठिक ठाउँमा पुग्न सक्छौँ, त्यसले राष्ट्रियसभाको गरिमा पनि बढाउँछ । यस कारण माननीयज्यूलाई आसनग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्दछु।’

यस्तै राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको अर्को बैठक यही असार २५ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, असार २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्