दुई मैथिली कृति विमोचित
बर्दिबास नगरपालिका–४ माईस्थानमा आयोजित मधेस प्रदेशको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीकैबीच मैथिली भाषा साहित्यका साधक रामभरोस कापडी ‘भ्रमर’ बारे लेखिएका दुई मैथिली कृति पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विमोचन गरेका हुन्।
महाेत्तरी, असार २३ : मैथिली भाषाका दुई कृति विमोचन गरिएका छन्।
बर्दिबास नगरपालिका–४ माईस्थानमा आयोजित मधेस प्रदेशको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीकैबीच मैथिली भाषा साहित्यका साधक रामभरोस कापडी ‘भ्रमर’ बारे लेखिएका दुई मैथिली कृति पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विमोचन गरेका हुन्।
विमोचित कृतिमा प्रोमिशा मिश्रा लिखित तथा प्रसिद्ध मैथिली भाषा विज्ञ चन्द्रेश सम्पादित ‘रामभरोस कापडी भ्रमर : व्यक्तित्व एवं कृतित्व’ र मैथिली भाषासाहित्य साधक डा. महेन्द्रनारायण राम सम्पादित ‘पतियाक आखरमे गुँजैत भ्रमर’ हुन्। शुक्रबार सुरु भएर आज सम्पन्न हुने तालिकाको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमै मैथिली साहित्यले दुई कृति पाएको छ।
विमोचित कृतिमध्ये ‘रामभरोस कापडी भ्रमरः व्यक्तित्व एवं कृतित्व’मा प्राज्ञ भ्रमरको जीवनी, साहित्यिक यात्रा र योगदानका विषय समेटिएका छन्।
त्यसैगरी ‘पतियाक आखरमे गुजैत भ्रमर’ कृतिमा विश्वभरि छरिएर पनि मैथिली भाषासाहित्यको विकासमा योगदान दिँदै आएका साहित्यकारले भ्रमरलाई पठाएका पत्र सामेल छन्।
राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रहिसक्नुभएका हाल मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष भ्रमरबारे दुवै विमोचित कृतिले विस्तारमा परिचय दिएको पुनम झा मैथिलले बताइन्। दुवै कृति प्रकाशन भने भारतको विहार प्रान्तको मधुवनी र सुपौलमा भएको हो।
विमोचित दुवै कृतिले मैथिली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिने प्रसिद्ध नाटककार एवं सिने कलाकार रमेशरञ्जन झाले प्रतिक्रिया दिए।