मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु
दुर्घटनामा २८ वर्षीय रिहान रुम्बा तामाङ, २१ वर्षीय सुमन चेपाङ र २० वर्षीय अमृत प्रजाकाे मृत्यु भएकाे छ।
मकवानपुर, असार २३ : मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
शनिबार बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा जुधेको थियो।
ट्रक जध्दा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।
सो दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरका ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने २० वर्षीय अमृत प्रजा छन्।
आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ना६ख ६६६७ नम्बरको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नम्बरको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएको प्रहरीले जनाएको छ।











