Kathmandu Press

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महङ्गीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं, असार २३ : नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ पुर्‍याउन माग गरेको छ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महङ्गीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए।

‘सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रूपैयाँ तोकेको अवस्थामा वर्तमान समयको कहालीलाग्दो मूल्यवृद्धि, महँगीमा निजी क्षेत्रमा कार्यरत श्रमिकले मासिक १५ हजारले जीवनयापन गर्न सक्दैनन्, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुई–दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने उनको भनाइ छ।

महासचिव राईले श्रमजीवीको पारिश्रमिकको सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेसले विगतदेखि नै न्यूनतम पारिश्रमिक श्रमिकको जीवनयापनको निमित्त सहजता प्रदान गर्ने हुनुपर्दछ भन्ने कुरा उठाउँदै आएको बताए। नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशनले समेत श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार हुनुपर्ने निर्णय गरेको थियो।

आकासिँदो महँगीको वर्तमान अवस्थालाई ध्यानमा राखेर श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण नभए कडा कदम चाल्ने नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: ०८:१५ बजे, शनिबार, असार २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्