कान्ति राजमार्गलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउँछौँ : मन्त्री ज्वाला

काठमाडौं, असार २२ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कान्ति राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गरेका छन्।
काठमाडौं उपत्यकालाई तराई मधेशसँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन ।
सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि तीन अर्ब ७८ करोड बराबरको बजेट विनियोजन गरेको छ। कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ।
त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ । कूल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ।
स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गको रुपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थित रुपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताए। उनले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमी कमजोरी नगर्न समेत निर्देशन दिए।











