छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
मापदण्डअनुसार काठमाडौं महानागरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता कायम गर्ने उद्देश्यले मापदण्ड ल्याइएको हो।
काठमाडौं, आसर २२ : काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ।
काठमाडौं महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो।
महानागर स्थानीय राजपत्रमा प्रकाशित मापदण्डअनुसार काठमाडौं महानागरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता कायम गर्ने उद्देश्यले मापदण्ड ल्याइएको हो।
छात्रावासमा बस्ने छात्रछात्रा तथा सञ्चालकको अधिकतम हितलाई सुनिश्चित गर्न तथा छात्रावास व्यवसायीको हकहित र पेशागत मर्यादा कायम गर्न–गराउन वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थासमेतलाई आधार मानी महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, २०७५ को दफा ४ बमोजिम नगर कार्यपालिकाले यो मापदण्ड बनाइएको हो।
राजपत्रमा प्रकाशित होस्टलसम्बन्धी मापदण्ड तुरुन्त प्रारम्भ हुनेछ। मापदण्डबमोजिम महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावास सञ्चालनको आधारभूत मापदण्ड तोकिएको छ। जसअनुरुप छात्रावासमा न्यूनतम भौतिक पूर्वाधार (जस्तैः शौचालय, भान्साघर, पानी आपूर्ति, विद्युत आपूर्ति, फोहरमैला व्यवस्थापन आदि) को सुविधा र छात्रावास परिसरमा उचित सरसफाइको व्यवस्था हुनुपर्नेछ।











