
काठमाडौं, असार २२ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा भइरहेको अनुसन्धानलाई सरकारको ‘पोलिटिकल स्टन्ट’ मात्र भएको बताएका छन्।
स्ववियु काउन्सिलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले उक्त भनाइ राखेका हुन्। सरकारले भ्रष्टाचार विरोधी देखिन ललिता निवास प्रकरणमा ‘पोलिटिकल स्टन्ट’ गरेको भनाइ उनको छ।
कार्यक्रममा ओलीले भने, ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो। आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो। अरु केही गर्दैन यो सरकारले।’
पार्टी उपाध्यक्ष विष्णु पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरेका व्यक्तिलाई समेत दोषी देखाउन खोजिएको समेत बताए। पौडेलका छोरालाई दोषी देखाउन खोजिएकोप्रति ओलीले असन्तुष्टि पोखेका थिए।
ओलीले भने, ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे। कसैको छोराले जमिन किन्यो, धनीपुर्जा हेर्यो, अड्डामा गएर पास गर्यो। ऊचाहिँ प्रमुख दोषी भन्न खोजिएको। यस्ता कुराहरुको कुनै अर्थ छैन।’






