काेशी प्रदेशसभाका सभामुख गाैतमले राजीनामा दिन सक्ने
बिहीबार प्रदेश सरकार गठनका लागि समर्थन गरेपछि विवादमा तानिएका उनले अहिलेकै जस्तो अंकगणित रहे आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।
विराटनगर, असार २२ : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले परिआए राजीनामा दिने बताएका छन्। कोशीका प्रतिपक्षी दलहरू एमाले र राप्रपाले मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी गरिरहँदा उनले सरकार जाेगाउन सभामुख पदबाट राजीनामा दिन सक्ने बताएका हुन्।
बिहीबार प्रदेश सरकार गठनका लागि समर्थन गरेपछि विवादमा तानिएका उनले अहिलेकै जस्तो अंकगणित रहे आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्। नैतिकताको प्रश्न उठ्न सक्ने भन्दै कसैको दबाबमा नभई आफ्नै इच्छाले सभामुख पदबाट राजीनामा दिनुपर्ने परिस्थिति आउन सक्ने उनको भनाइ थियो।
बिहीबार कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए। ९७ सदस्यीय कोशी प्रदेशसभामा थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्न एक मत अपुग हुने भएपछि गौतमले पनि हस्ताक्षर गरेका थिए। प्रदेशसभामा सत्ता र प्रतिपक्षको गणित ४६-४६ को रहेको अवस्थामा सभामुखले केन्द्रीय सत्ता गठबन्धनअनुरूप थापाको समर्थनमा हस्ताक्षर गरेका हुन्।
शुक्रबार मुख्यमन्त्रीको शपथग्रहणपछि पत्रकारसँग कुरा गर्दै सभामुख गौतमले केन्द्रमा सरकारहरु बन्दा सभामुखको नाम पनि जाने गरेको पाइएपछि हस्ताक्षर गर्नुपर्ने कुरा उठेपछि आफू तयार नहुँदा पनि हस्ताक्षर गर्नुपर्ने अवस्था आएको उनले बताए।
अन्तिम अवस्थामा अप्ठेरो परिस्थितिलाई निकास दिन आफूले हस्ताक्षर गरेको उनको भनाइ थियो। ‘सदनको अध्यक्षको नाताले एकातिर हस्ताक्षर गर्नुपर्ने परिस्थिति नआओस् भन्ने मेरो चाहना थियो,’ उनले भने, ‘त्यसका लागि अन्तिमसम्म नै प्रयास गरे। प्रदेशलाई निकासविहीन अवस्थामा राख्न सक्दैनथ्यौं, त्यसैले मैले निकास दिएको हुँ।’
सभामुखको भूमिकामा रहँदासम्म निष्पक्ष भूमिका खेल्ने स्पष्ट पार्दै गौतमले भने, ‘साँच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भने मैले यहाँ यो पदमा बसिरहनुपर्ने आवश्यकता हुन्न।’
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण सो प्रक्रिया रोक्न माग गर्दै एमाले र राप्रपा अदालत जान लागेका छन्।











