एसइई नतिजा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल
बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शतप्रतिशत) अंक ल्याउने ६ विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयकाका छन्।काठमाडाैं, असार २२ : एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ।
बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शतप्रतिशत) अंक ल्याउने ६ विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयकाका छन्। जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ।
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष उत्कृष्ट अंक ल्याउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो। गत वर्ष ५६ जनाले ३ दशमलव ६ जिपिएभन्दा माथि अंक प्राप्त गरेकामा यस वर्ष बढेर ३ दशमलव ६ जिपिएभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक सय ३९ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए।
जिल्लामा चार जिपिए ल्याउने विद्यालयमा गणेश माविका दुई, चिल्डेन लाइफ बोर्डिङ स्कुललका दुई, रूद्रेपीपल माविका एक विद्यार्थी र भीमगिठे माविका एक विद्यार्थी छन्। जिल्लामा चार हजार सात सय ७४ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए। तीमध्ये दुई सय ३० प्राविधिक धारतर्फका विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
बागलुङमा ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने एक सय ३९, ३ दशमलव ३ देखि ३ दशमलव ५५ जिपिए ल्याउने ३१३ विद्यार्थी, २ दशमलव ८ देखि ३ दशमलव १५ जिपिए ल्याउने ४६७, २ दशमलव ४ देखि २ दशमलव ७५ जिपिए ल्याउने विद्यार्थी ७ सय ४८, २ देखि २ दशमलव ३५ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १ हजार १९२, १ दशमलव ६ देखि १ दशमलव ९५ सम्म अंक ल्याउने १ हजार २ सय ८३ र १ दशमलव २ देखि १ दशमलव ५५ जिपिए ल्याउने ३ सय ३६ तथा त्यसभन्दा कम अंक ल्याउने ६६ विद्यार्थी छन्।