कोशीको मुख्यमन्त्री बने कांग्रेसका उद्धव थापा
प्रदेश प्रमुख खापुङले आजै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
विराटनगर, असार २१ : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख खापुङले आजै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
थापाले आफ्नो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ जना, जसपाका १ जना र सभामुख बाबुराम गौतमको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका हुन्।
झापा जिल्लाको पूर्वसभापति पनि रहेका थापा कांग्रेस प्रदेश १ का सभापतिसमेत हुन्। उनी समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेका हुन्।











