एलओडीबाट नाबालिकालाई बागडोल पुर्याएर बलात्कार, एकजना पक्राउ, दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, असार २१ : ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
जेठ ३० गते एलओडी गएकी १६ वर्षीया एक नाबालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा पोखरा घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। बलात्कृत भएको भोलिपल्टै नाबालिगले प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
बयानका क्रममा कोइरालाले उमेर नपुगेकाले क्लबमा प्रवेश नपाउने भएकाले पीडित भनिएकी व्यक्ति नाबालिग नभएको दाबी गरेको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार एसइई दिएर बसेकी नाबालिकालाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। साथीसँगै एलओडी पुगेकी उनलाई झुक्याएर आफ्नो गाडीमा हालेर बागडोल पुर्याइएको थियो।
त्यसराति फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए। तर त्यहाँ नाबालिगको कोइरालासँग भेट भएको थियो।
प्रहरीले एलओडीका दुई सञ्चालकविरूद्ध पनि जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको छ। कोइरालाको बयानपछि नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर सञ्चालकद्वय रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाललाई पनि छानबिनको दायरामा ल्याइएको प्रहरीको भनाइ छ। नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको प्रहरीको भनाइ छ।











