कांग्रेस जिल्ला सभापतिहरूको भेला सानेपामा जारी
केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने विश्वास उनले व्यक्त गरे।
काठमाडौं, असार २१ : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु भएको छ।
पार्टी कार्यालय सानेपामा सुरु भएको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए। उपनिर्वाचनको परिणामबाट कोही निराश हुनुपर्ने पनि उनले बताए।
महामन्त्री शर्माले दशैंअघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको पनि बताए। असार २७ देखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्ने उनको भनाइ थियो। केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने विश्वास उनले व्यक्त गरे।
जारी बैठकमा तीन एजेण्डामा छलफल हुने महामन्त्री गगन थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायत विषयमा छलफल हुनेछ।











