सत्ता गठबन्धनको निष्कर्ष- एमालेको कदम असंसदीय रहेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन
बैठकले एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफको मौका नै नदिई राजीनामा माग्दै संसद बैठक अवरूद्ध गर्नु संसदीय मूल्यविपरीत रहेको निष्कर्ष निकालेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
काठमाडाैं, असार २१ : सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बिहान बसेको सत्तारूढ ७ दलको बैठकले त्यसे निर्णय गरेको हो। उक्त प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस गर्ने निर्णय गरेको हो। बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देव गुरूङ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आजै सकिँदैछ। कोशी प्रदेशको सरकार गठनलाई लिएर केही द्विविधा र असमझदारी देखिए पनि ४७ जना सांसदको हस्ताक्षर बुझाइहाल्न निर्देशन दिएको बैठकपछि उक नेताले बताए। बैठकले मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको छ।
बैठकले एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफको मौका नै नदिई राजीनामा माग्दै संसद बैठक अवरूद्ध गर्नु संसदीय मूल्यविपरीत रहेको निष्कर्ष निकालेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। प्रधानमन्त्री यही संसदले निर्वाचित गरेको हुँदा सदनको सामना गरेर अघि बढ्ने कुराकानी भएको उनले बताए। ‘प्रधानमन्त्रीले सदन फेस गर्ने कुरा भयो। एमालेलगायत दलले सदन अवरूद्ध गरे गर्छन्, त्यो उनीहरूको कुरा भयो,’ उनले भने, ‘हामीले चाहिँ अहिले राजीनामा होइन, सदन फेस गर्ने नै निष्कर्ष निकाल्यौं।’
केही दिनअघि एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएको र सो अभिव्यीक्तले नेपाली जनताको स्वभिमान गिरेको भन्दै एमालेलगायत विपक्षी दलहरूले बिहीबार सदन अवरूद्ध गरेका छन्। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी उनीहरूले दिएका छन् । प्रधानमन्त्री दाहाले भने उक्त अभिव्यक्ति पुस्तकमा रहेको अंश मात्रै भएको र त्यसलाई आफूले उल्लेख मात्रै गरेको बताएका छन्।
प्रधानमन्त्रीको आशयलाई गलत अर्थ लगाइएको भन्दै राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले बताए। उनका अनुसार बैठकले आफ्नो अभिव्यक्तिका विषयमा सदनमा स्पष्ट कुरा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले संसदमा आफ्नो कुरा राख्ने वातावरण बनाउन प्रतिपक्षी तयार हुनुपर्ने उल्लेख गरेकाे पाण्डेले बताए ।











